
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिनुभएको छ ।
नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गर्नुभएको हो । सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित ‘क्लोज क्याम्प’ जस्तो कार्यक्रममा बोल्दै लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भए पनि अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्नुभयो ।
रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि)बाट आएका व्यक्तिहरू रहेको भन्दै उहाँले यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औंल्याउनु भयो ।
परिवार ठूलो भएको अवस्थामा अनुशासित हुन नसके समाजमा अराजकता सिर्जना हुने र रास्वपाले कुनै पनि प्रकारको अराजकतालाई स्वीकार गर्न नसक्ने उहाँको भनाइ छ । जनताले ठूलो आशा र अपेक्षाका साथ भोट दिएको स्मरण गराउँदै उहाँले सांसदहरूलाई प्रत्येक दिन आफ्नो जिम्मेवारीको महशुस गर्न निर्देशन दिनुभयो ।