काठमाडौं । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको बताएका छन् । प्रतिनिधि सभामा आज १० वटा मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिएका सांसदहरूले सरकारले सन्तुलित बजेट नबनाएको आरोप लगाएका हुन् ।
बैठकमा सांसदहरूले २०८४ सालको चुनावलाई लक्षित गरी मन्त्रीहरूले बजेटमा हालीमुहाली गरेको आरोप लगाए । त्यसैगरी विद्युत् उत्पादकहरूलाई निरुत्साहित गर्ने गरी टेक एन्ड पेको व्यवस्था गरिएको, शिक्षामा बजेट कटौती गरिएको भन्दै आपत्ति जनाए । विकासका आयोजना समेत अलपत्र पार्ने गरी बजेट विनियोजन गरिएको उनीहरूको आरोप थियो ।
बैठकमा सांसदहरूले धान रोप्ने बेला किसानले रासायनिक मलको अभाव भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।