बाढीपहिरोका कारण दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५१ स्थानमा यातायात एकतर्फी

बीपी राजमार्गमा आजदेखि राति सवारी सञ्चालनमा रोक
असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोका कारण दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५१ स्थानमा यातायात एकतर्फी

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण आज दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । विभिन्न सडकका ५१ स्थानमा एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

उत्तर–दक्षिण कोरिडोरअन्तर्गत कालीगण्डकी लोकमार्गको गुल्मीस्थित गरगरेमा शुक्रबार बिहान गएको सुक्खा पहिरो झरेर अवरुद्ध भएको सडक अझै खुलेको छैन । कालीगण्डकी लोकमार्ग आयोजनाले २ वटा एक्सकाभेटरसहितका ठूला उपकरण तयारी अवस्थामा राखेको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन नसकिएको सब-इन्जिनियर बलबहादुर अयडीले जानकारी दिनुभयो ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवासस्थित विनयी खोला आएको बाढीले डाईभर्सन बगाउँदा सवारी आवगमन अवरुद्ध छ । विनयी खोलाले ९ पटक अस्थायी डाइभर्सन बगाइसकेको छ । 

अहिले बुटवल-नारायणगढ खण्डमा यात्रा गर्नेहरूले दुम्किवासबाट सर्बे हुँदै ३२ किलोमिटर घुमेर खोला छिचोल्नुपर्ने बाध्यता छ । विनयी खोलामा रहेको पुल गत पुस २६ गते भासिएको थियो । नयाँ पुल निर्माणाधीन अवस्थामा छ ।

सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएका सडकका ५१ स्थानमा एकतर्फी सञ्चालनमा छन् ।

यता बीपी राजमार्गमा भने आजदेखि १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा- मुग्लिङ खण्डअन्तर्गत मलेखु खण्डमा आइतबार साँझदेखि दैनिक राति साढे १० बजेदेखि ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने तयारी सडक विभागको छ । पुल निर्माणका लागि दुई दिन यातायात बन्द गर्न लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.