मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको छ ।
भुमि सम्बन्धी समस्या देखाउँदै कालो पोसाक लगाएर मोटरसाईकलमा आएका ४ जनाको समुहले उहाँलाई कार्यकक्षमै आक्रमण गरेका हुन् । उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालय टेबलमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापेका छन् ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय सरकार सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहँदा अध्यक्ष न्यौपानेमाथि आक्रमण भएको हो ।
केहिअघिबाट हेटौंडा १ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो ।
आक्रमणको क्रममा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । आक्रमणका लागी आएकासँग प्रतिकारको क्रममा बेस्सरी कराएपछि उनीहरू भागेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
घटनाका क्रममा अध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुईवटै मोबाईल आक्रमणकारीले लगेको अध्यक्ष न्यौपानेले बताउनुभयो । घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरू घटना स्थल पुगेका छन् ।
घटनाको विषेश ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गर्नुभएकाे छ । घटना स्थलमा रहनुभएको नगर प्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल कारवाहिकाे दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।
उपमहानगरमा आकस्मिक बैठक
वडा अध्यक्ष न्यौंपानेमाथि भएको आक्रमणको विषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्ने भएको छ । बैठकपछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।