बन्द विपि राजमार्ग एकतर्फी सुचारू

असार ४, २०८२ |पुजन धिताल
बन्द विपि राजमार्ग एकतर्फी सुचारू

काभ्रे । असोज दोस्रो साताको बाढी र पहिरोले क्षत-विक्षत बनेको विपि राजमार्गमा बुधबार करिब साढे तीन बजेबाट सुरू भएको वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतमा ५ बजेको समयमा माथिबाट आएको लेदोसहितको पहिरोले दुईतर्फी सवारी आवागमन अवरूद्ध भएकोमा अहिले करिब ६ बजेबाट एकतर्फी सुचारू भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुनिल धाजुले पहिरो पन्छाएर यातायात पुनः सुचारू गर्न प्रयास भइरहेको जानकारी दिनुभयो। हाल स्थानीय तथा ट्राफिक प्रहरीको सहयोगमा स्काइभेटर झिकाएर सडक खुलाउने काम गरिएको हो ।

विपि राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले अनुरोध गरेको छ। वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यसअघि नै अपिल गरिएको थियो।

यसैबीच, धुलिखेल नगरपालिका-११ पात्लेखेतमा अवरूद्ध भएको सडक ६ बजेबाट एकतर्फी सञ्चालनमा आएको जानकारी प्राप्त भएको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।