काठमाडौं । कान्तिपुर टेलिभिजन आजदेखि २३औं वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि २०६० साल असार २९ गते प्रसारण सुरू गरेको कान्तिपुर टेलिभिजन स्थापनाकालदेखि नै संघर्षबाट आएको हो ।
सत्य तथ्य र निष्पक्ष समाचार पाउने नागरिकको अधिकारप्रति समर्पित भई कान्तिपुर टेलिभिजन जिम्मेवार पत्रकारितामा अडिग र निर्भिक रूपमा क्रियाशिल छ ।
समाचार, विचार र विश्लेषण तथा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको कान्तिपुर टेलिभिजनले आम जनताका सरोकारलाई सधैं केन्द्रमा राखेर तीनै तहका सरकारलाई खबरदारीसहित जवाफदेही बनाउने विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ ।
२०६० सालमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यही वर्ष स्थापना भयो कान्तिपुर टेलिभिजन । प्रभाव र दबाबबाट अलग, सही सूचना र सत्य समाचार जनताको भाषामा । स्थापनाको वर्षदेखि नै कान्तिपुर टेलिभिजनले दर्शकको विश्वास जित्न सफल भयो ।
२०६२/ ६३ को जनआन्दोलनमा कान्तिपुर टेलिभिजनले जनताका पक्षमा उभिएर खेलेको भूमिका मिडियाको मात्र होइन, नेपालकै इतिहासमा गर्विलोसँग स्थापित भएको छ ।
संविधानसभाको निर्वाचन, नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको कार्यान्वयनमा कान्तिपुर टेलिभिजन सधैं आफ्नो दायित्वमा अडिग रह्यो ।
भारतले लगाएको नाकाबन्दीमा होस्, २०७२ सालको विनाशकारी भूकम्पको समयमा होस्, २०७८ सालको विश्वव्यापी कोरोना महामारीको कठिन समयमा नै किन नहोस्, कान्तिपुर टेलिभिजन अविचलित-अविच्छिन्न आफ्नो जिम्मेवारीमा डटिरह्यो ।
७२ को भूकम्पमा त कान्तिपुर टेलिभिजनले सडकमै स्टुडियो खडा गरेर पनि समाचार र सूचना निरन्तर प्रवाह गरिरह्यो । महामारीको समयमा देशैभरिको समाचार प्रवाहमा कुनै कसर बाँकी राखेन कान्तिपुर टेलिभिजनले ।
जनतालाई परेको आपत र प्राकृतिक विपदका हरेक बेला कान्तिपुर जनतासँगै रह्यो, जनताको चुलोचौका र आँगनमा पुगिरह्यो । नयाँ प्रविधि र सामाजिक संजालको बढ्यो प्रयोगसँगै कान्तिपुर टेलिभिजनले दर्शकसम्म सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममा समेत आफूलाई विस्तार गरेको छ।
हाल कान्तिपुर टेलिभिजनका समाचार तथा कार्यक्रमहरू कान्तिपुर टिभी डट कमका साथै फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्रामका साथै कान्तिपुर टिभी एपबाट पनि प्रत्यक्ष हेर्न र पढ्न सकिन्छ।