काठमाडौं । महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको बताउनुभएको छ ।
नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रूटमा सञ्चालन गरिएको विषयमा पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताउनुभएको हो ।
उहाँले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरूवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रूटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पार्नुभयो ।
सडक दुर्घटना, सामान छुट्नेलगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिनुभयो ।
उहाँले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आईपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।