काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल र इरानबाट फर्कन चाहने नेपालीको विवरण संकलन सुरू गरेको छ ।
इजरायल-इरान द्वन्द्व चर्किंदै जाँदा उद्धार तथा स्वदेश फिर्ताका लागि राजदूतावासले विवरण संकलन गरेको हो ।
इजरायल र इरानबीच अहिले द्वन्द्व चर्किएको छ । दिनहुँ क्षेप्यास्त्र र रकेट प्रहार भइरहेका छन् । यस्ता घटनाबाट जोगाउन नेपालीहरूको विवरण संकलन गरी उद्धार र स्वदेश फिर्ताको पहल थालिएको हो ।
तेलअभिभस्थित नेपाली राजदूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा वा त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम सुरू गरेको जनाएको हो ।
दूतावासले यो प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई रजिस्ट्रेसन गर्न पनि आग्रह गरेको छ । दूतावासका अनुसार इजरायलमा करिब ७ हजार र इरानमा १२ जना नेपाली छन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित फर्किन चाहनेहरू सम्पर्कमा आएको खण्डमा उनीहरूको संख्या हेरी आवश्यक योजना बनाउने बताउनुभएको छ ।