काठमाडौं । सरकारले इजरायल र इरानबीचको युद्ध झन् चर्किँदै गएपछि त्यस क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई त्यहीँ सुरक्षित राख्ने र उद्धार गरेर ल्याउनेसम्मको योजना बनाएको छ ।
श्रम मन्त्रालयको अगुवाइमा आज बसेको परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समितिसहित सरोकारवालाको आपत्कालीन बैठकले मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने निर्णय गरेको हो ।
सरकार, निजी क्षेत्र, गैरआवासीय नेपालीहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वयमा नेपालीको सुरक्षा सावधानीमा काम अघि बढाइएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले इजरायल र इरानमा रहेका नेपालीलाई भारत र चीनको सहयोगमा उद्धार गर्ने योजना पनि बनाएको छ । भारत र चीनले आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि सामेल गराउन कूटनीतिक माध्यमबाट अनुरोध गर्ने सरकारको तयारी छ । अन्य देश हुँदै नेपाल आउन चाहेमा त्यस्ता मुलुकका सिमानामै भिसा उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई पत्राचार गर्ने निर्णय आजको बैठकले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बैठकले आपत्कालीन काम बाहेकका लागि मध्यपूर्व क्षेत्रमा नजान ट्राभल एडभाइजरी जारी गर्ने र हालै भिसा जारी भएका नयाँ श्रमिक नपठाउन म्यानपावर कम्पनीमार्फत रोजगारदातालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । टिकट काटिसकेको अवस्थामा मिति सार्दा लाग्ने खर्च मिनाहा गर्न पर्यटन मन्त्रालयमार्फत एअरलाइन्स कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकले युद्धबाट प्रभावित श्रमिकलाई मनोपरामर्श सेवा दिन वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको छ ।