राजविराज नगरपालिका तोडफोड गरेको आरोपमा निलम्बित नगरप्रमुखविरुद्ध प्रहरीमा जाहेरी

असार ३, २०८२ |आरएन विश्वास
राजविराज नगरपालिका तोडफोड गरेको आरोपमा निलम्बित नगरप्रमुखविरुद्ध प्रहरीमा जाहेरी

सप्तरी । एक साताअघि राजविराज नगरपालिकाकाे कार्यालयमा भएकाे तोडफोडमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै आज मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिइएको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परबिनले मंगलबार जाहेरी दिँदै निलम्बित नगरप्रमुख भीमराज यादवसहित तोडफोडमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्नुभएकाे हाे ।

केही वडाध्यक्ष तथा आन्दोलनरत कर्मचारीहरूसँगै पुग्नुभएकी परबिनले जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई उक्त निवेदन बुझाउनुभएकाे हाे ।

राजविराज नगरपालिकाकाे लेटर प्याडमा दिइएकाे निवेदनमा भ्रष्टाचार मुद्दामा निलम्बित नगरप्रमुख यादवसहित योजना शाखाका प्रमुख मनोज यादव, राजविराज–९ का सुधीर यादव, राजविराज–७ निवासी गज्जु भनिने गजेन्द्र यादव लगायत २०–२५ जनालाई विपक्षी बनाइएको छ । विपक्षीहरूले सार्वजनिक सम्पत्ति र भौतिक संरचनामा अनाधिकृत रूपमा क्षति पुर्‍याउँदै आपराधिक गतिविधि गरेको उल्लेख छ ।

यस्तै निवेदनमा लेखा अधिकृत शत्रुधनलाल दासमाथि कुटपिट गरी उनीसँग भएको दुई तोला सुनको सिक्री समेत खोसेको दाबी गरिएको छ । मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ६ अनुसार दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग समेत गरिएको छ ।

यता प्रहरी प्रमुख खतिवडाले नगरपालिकाकाे निवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवापछि शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेपछि विवाद चुलिएको थियो । गत जेठ २७ गते नगरपालिकामा यही विवादका कारण तोडफोड भएको थियो ।

उक्त निर्णयसँग असन्तुष्ट निलम्बित नगरप्रमुख भीमराज यादवले जेठ २५ गते नगरपालिकाको कार्यालयमा ताल्चा लगाउनुभएको थियाे । तर, त्यसको दुई दिनपछि कावा नगरप्रमुख परबिन पक्षले ताल्चा तोडेर भोगेन्द्र यादवलाई हाजिर गराएपछि निलम्बित नगरप्रमुख यादव समर्थकहरूले नगरपालिकामा तोडफोड गरेका थिए ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे निर्देशनमा राजविराज नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा हरिकिशोरप्रसाद चन्द्रवंशी हाजिर भइसक्नुभएको छ ।

गत स्थानीय तहकाे निर्वाचनमा उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपालबाट नगरप्रमुखमा यादव र उपप्रमुखमा परबिन निर्वाचित हुनुभएको थियाे । तर, ठेकेदार पृष्ठभुमिका यादव पुराना एक निर्माण कामकाे भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि परबिन कावा मेयर बन्नु भएको हाे । यद्यपि, आपसी सन्तुलन नमिल्दा पटक पटक राजविराज नगरपालिकामा द्वन्द्व हुँदै आएकाे छ । 

अहिले आर्थिक वर्षको अन्तिममा आएर भएकाे याे विवादले नगरकाे विकास निर्माण काम समेत प्रभावित हुन पुगेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।