अपडेट : पाल्पामा जीप दुर्घटनामा मृत्यु भएका थप एकको सनाखत

असार ३, २०८२ |माधव अर्याल
अपडेट : पाल्पामा जीप दुर्घटनामा मृत्यु भएका थप एकको सनाखत

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु भएका थप एक जनाको सनाखत भएको छ । दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए ।

दुर्घटनामा परी बगनासकाली गाउँपालिका-१, घर भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बस्दै आएका ४६ वर्षीय विनोद ढुंगानाको पहिचान खुलेको थियो भने अर्का एक जनाको सनाखत भएको थिएन । सनाखत हुने मृतकमा स्याङ्जाको गल्याङ्ग नगरपालिका-७ घर भई बुटवल-११ बस्ने ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको बोलेरो लु १ च ६७५६ नम्बरको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । उचपारका लागि अस्पताल लगेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सुनारको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अस्पतालका कम्पनी सचिव कृष्ण प्रसाद पराजुलीकाअनुसार घाइते खड्काको अवस्थामा सुधार आएको छ ।

जीप वीरकोटस्थित आर्यभञ्ज्याङ-रामपुर कच्ची सडकखण्डमा झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी नायब निरीक्षककाे सहितकाे टाेलीले स्थानीयकाे सहयाेगमा घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए । 

सडक चिप्लो र ओरालो भएको स्थानमा दुर्घटना भए पनि कारण खुलेको छैन । 

सम्बन्धित समाचार

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।