हुम्लामा आगलागी, २० घर जले

असार २, २०८२
हुम्लामा आगलागी, २० घर जले

हुम्ला । सर्केगाड-३ उनापानीमा आइतबार राति आगलागी हुँदा २० वटा घर जलेका छन् । आगलागीबाट ८ घर जलेर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा आशिंक क्षति भएको छ ।

राति साढे १२ बजे स्थानीय बृष रावतको गोठबाट सल्किएको आगो फैँलिदा २० घर जलेको सर्केगाड-३ उनापानीका वडाध्यक्ष अकिल कार्कीले जानकारी दिनुभयो । केही समयदेखि मानिस र पशु चौपाया लेकमा रहेको बताइएको छ ।

आगलागीबाट धनबहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेरा, आशा फडेरा र प्रकाश फडेरासहितका ८ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । रामकृष्ण रावत, राजबहादुर रावत, जय रावत, अमृता कार्की, बिरजन फडेरा, चन्द्रबहादुर फडेरा लगायतको १२ घरमा आशिंक क्षति पुगेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

आगलागीको सूचना पाएपछि सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको प्रहरी टोली राति दुई बजे घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीको सहयोगमा बिहान साढे ६ बजेमात्र आगो नियन्त्रणमा लिइएको हुम्ला प्रहरी प्रमुख शंकर पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

आगलागीबाट धनबहादुर रावतको घरमा भएको २ लाख २० हजार रुपयाँ नगद जलेर नष्ट भएको बताइएको छ । अन्नपात, भाँडाकुडा, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र पनि जलेर नष्ट भएका छन् ।