काठमाडौं । इजरायल र हमासबीचको युद्धले इजरायलमा रहेका नेपालीहरू प्रभावित हुँदै आएका छन् । हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिए भने विपिन जोशी अझै हमासकै नियन्त्रणमा छन् ।
शुक्रबारयता सुरू भएको इजरायल र इरानबीच युद्धको स्थितिले नेपालीमा पुनः बेचैनी र त्रास बढेको छ । इजरायलले इरानमा आक्रमण गरेपछि दुवै मुलुकद्वारा एक अर्काविरूद्ध आक्रमण जारी छ ।
इरानको क्षेप्यास्त्र आक्रमणबाट मध्य तथा उत्तरी इजरायलका भवनहरू क्षतिग्रस्त भएका छन् भने इरानमा पनि इजरायलको आक्रमणबाट क्षतिका खबर आएका छन् । यो अवस्थापछि दुवै मुलुकमा रहेका नेपालीको अवस्था के छ ? इजरायल र इरान दुवै मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि के गरिरहेको छ त नेपाल सरकारले ?
इजरायलमा काम गरिरहेका नेपालीहरूको निद्रा गत शुक्रबारयता बिथोलिएको छ । रातभर सुनिने चेतावनीका साइरन र क्षेप्यास्त्रका आवाजले नेपालीले असुरक्षित महसुस गर्न थालेका छन् ।
त्रासको अवस्था भए पनि इजरायल स्थित नेपाली दुतावासका अनुसार त्यहाँ नेपालीहरू सुरक्षित रहेका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा ७ हजार नेपाली रहेको र अहिलेसम्म युद्धबाट कसैलाई पनि असर नपरेको बताउनुभएको छ ।
उहाँले इजरायलमा अहिले युद्धको अवस्था रहेको र बजार, स्कुल तथा यातायात सबै बन्द रहेकाले कुनै आपतकालीन अवस्था आइपरे सम्पर्क गर्न नेपालीहरूलाई भनिएको जानकारी दिनुभयो । यस्तै, पछिल्लो घटनाक्रमका बारेमा दूतावास परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको पनि उहाँले बताउनुभएको छ ।
यसैगरी, आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् । नेपालीको सुरक्षा र उद्दारका लागि कूटनीतिक रूपमा तत्काल पहल गर्न उनीहरूको आग्रह छ ।
इजरायलमा केयर गिभरमा श्रम स्वीकृति लिएर जानेको संख्या १८ सय ८८ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ छ । सबैभन्दा धेरै जाने लन एण्ड अर्नको कार्यक्रम कोरोना महामारीपछि रोकिएको हुँदा अहिले संख्या कम भएको सरकारी अधिकारीहरूको भनाइ छ ।
इरानमा पनि नेपालीहरू कार्यरत छन् । इजरायल र इरानले एक अर्कामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राख्दा स्थिति त्राशपुर्ण बनेको हो । त्यसो त इजरालय र हमास बीच द्वन्द्व सुरू भए देखीनै नेपालीहरू प्रभावित भइरहेका छन् । हमाससँगको युद्धमा दश जना नेपालीको मृत्यु भयो भने अपहरणमा परेका विपिन जोशीको अवस्था अहिले पनि अज्ञात छ ।