इजरायल-इरान तनाव : संयम, कूटनीति र निशस्त्रीकरणका लागि इन्हुरेड इन्टरनेशनलको अपिल

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायल-इरान तनाव : संयम, कूटनीति र निशस्त्रीकरणका लागि इन्हुरेड इन्टरनेशनलको अपिल

काठमाडौं । अग्रणी मानव अधिकार संस्था इन्हुरेड इन्टरनेशनलले इजरायल र इरानबीच बढ्दो सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयम, कूटनीति र आणविक निशस्त्रीकरणको आह्वान गरेको छ।

संस्थाद्वारा जारी विज्ञप्तिमा हालको द्वन्द्वले परमाणु स्थल, तेल भण्डार, मिसाइल केन्द्र र नागरिक पूर्वाधारलाई लक्षित गरी क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरेको छ।

इजरायलको आकस्मिक आक्रमणपछि ईरानले जवाफी ड्रोन आक्रमण सुरू गरेको र परमाणु वार्ता स्थगित गरेर तनावलाई थप चर्काएको पनि संस्थाले जनाएको छ। यद्यपि आईएईएले इरान परमाणु हतियार बनाउँदैछ भन्ने प्रमाण नदेखाएको जनाउँदै यस द्वन्द्वले परमाणु प्रतिरोधको बहसलाई उक्साउने खतरा रहेको संस्थाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

इजरायल ९० वटा परमाणु हतियारको मालिक भए पनि पारदर्शिता र निशस्त्रीकरणमा संलग्न नभएको भन्दै संस्थाले गम्भीर चासो व्यक्त गरेको छ।

इन्हुरेड इन्टरनेशनलले युद्धविरामको तत्काल कार्यान्वयन, कूटनीतिक वार्ताको पुनःसुरूआत, मध्यपूर्वलाई सामूहिक विनाशकारी हतियारमुक्त क्षेत्रका रूपमा परिभाषित गर्ने प्रतिबद्धता र दुबै देशलाई परमाणु हतियार निषेध सन्धिमा हस्ताक्षर गर्न आह्वान गरेको छ।

अन्त्यमा, संस्थाले अन्तर्राष्ट्रिय समुदायलाई सैन्यीकरण अन्त्य गर्न, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र शान्ति प्रवर्द्धनका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।

यस्ताे छ मानव अधिकार संस्था इन्हुरेड इन्टरनेशनलले जारी गरेकाे विज्ञप्ति

संयम, कूटनीति, तथा आणविक निशस्त्रीकरणको आह्वान

काठमाडौंस्थित अग्रणी मानव अधिकार संस्था इन्हुरेड इन्टरनेशनल इजरायल-ईरान सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। यो द्वन्द्व परमाणु स्थल, तेल भण्डार, ब्यालिस्टिक मिसाइल केन्द्र, नागरिक आवास, तथा रणनीतिक ठाँउहरूलाई लक्षित हुँदै आएको छ, जसले क्षेत्रीय स्थिरता तथा अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ। रिपोर्टहरूमा दुबै पक्षका नागरिक पूर्वाधार प्रभावित भएको तथा आवासीय क्षेत्रमा हताहति भएको उल्लेख गरिएको छ। इजरायलको आकस्मिक आक्रमणपछि ईरानले जवाफी ड्रोन आक्रमण सुरु गरेको छ र आफ्नो परमाणु कूटनीतिक वार्ताबाट अलग हुने निर्णय गर्दै तनावलाई थप चर्काएको छ।

अन्तर्राष्ट्रिय निगरानी निकायहरू, विशेषगरी IAEA, ले ईरानलाई सक्रिय रूपमा परमाणु हतियार निर्माण गरिरहेको ठहर नगरे तापनि, यो द्वन्द्वले परमाणु निशस्त्रीकरणको सट्टा परमाणु प्रतिरोधको पक्षमा बहसलाई सशक्त बनाउन सक्ने जोखिम बढाएको छ। इजरायल, जसलाई ९० परमाणु हतियारको मालिक मानिन्छ, त्यस क्षेत्रको एक मात्र परमाणु सम्पन्न राष्ट्र भए पनि अन्तर्राष्ट्रिय पारदर्शिता तथा निशस्त्रीकरण प्रयासहरूमा संलग्न हुन अस्वीकार गरिरहेको छ। परमाणुस्थल, तेलभण्डार, तथा नागरिक पूर्वाधारलाई लक्षित कुनैपनि सैन्य गतिविधिले—प्रयोजन जेसुकै भए तापनि—गम्भीर खतरा सिर्जना गर्दछ। यस्तो कार्यले अन्तर्राष्ट्रिय गैर-प्रसार मान्यताहरूलाई कमजोर पार्ने सम्भावना बढाउँछ। यो क्षण कुनै हालतमा मध्यपूर्वमा विस्तारित हुनसक्ने खतरनाक द्वन्द्वको आरम्भ बन्न दिनुहुन्न।

यस सन्दर्भमा हामी निम्न आह्वान गर्दछौं: • थप तनाव रोक्न युद्धविरामको तत्काल कार्यान्वयन। • ईरानको परमाणु कार्यक्रमबारे कूटनीतिक वार्ताको पुनःआरम्भ । • मध्यपूर्वलाई सामूहिक विनाशकारी हतियारमुक्त क्षेत्रका रूपमा परिभाषित गर्ने नयाँ प्रतिबद्धता। • इजरायल तथा ईरानलाई परमाणु हतियार निषेध सन्धि (TPNW) मा हस्ताक्षर तथा कार्यान्वयन गर्न आकस्मिक उपायहरूको खोज ।

अन्तमा, हामी अन्तर्राष्ट्रिय समुदायसमक्ष सैन्यीकरण निष्तेज गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न तथा स्थायी शान्ति प्रवर्द्धन गर्ने कूटनीतिक प्रयासहरूलाई प्राथमिकताका साथ तत्काल कदम चाल्न माग गर्दछौं।

डा. गोपाल कृष्ण सिवाकोटी

अध्यक्ष  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.