काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन लोकसेवा आयोगलाई आग्रह गर्नुभएको छ ।
आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यप्रतिको आशा एवं भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी निर्वाह गर्न आयोग चनाखो हुन जरुरी रहेको बताउनुभयो।
आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त, स्वच्छता र दक्षतालाई प्रमुख आधार मान्दै क्रियाशील रहनु प्रसंशनीय पक्ष भएको उहाँको भनाइ छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यक रहेको बताउनुभयो । सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरूदण्ड भएको उहाँको भनाइ छ ।
उहाँले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गर्नुभयो ।