काठमाडौं । क्लब विश्वकपको समूह 'डी' मा चेल्सीले नेतृत्व गरिरहेको छ । यो समूहमा ब्राजिलको सबैभन्दा सफल क्लब फ्लामिङ्गो, ट्युनिसियाको ३४ पटकको घरेलु लिग विजेता एस्पेरन्स डे ट्युनिस र अमेरिकाको मेजर लिग सकर क्लब लस एञ्जलस सहभागी छन् । यी टोलीको तयारीबारे पनि आज हामी चर्चा गर्दैछौं ।
फिफा क्लब विश्वकप समूह 'डी' मा कमजोर स्थितिबाट पनि पुनरागमन गर्न सक्ने क्लबको उपस्थिति रहेकाले यो समूहका खेलहरू रोमाञ्चक हुन सक्छन् । चेल्सीले नयाा प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा पहिलो उपाधि जितेको छ ।
अब ऊ आउँदो फिफा क्लब विश्वकपमा अर्को उपाधि रक्षा गर्ने लक्ष्यमा छ । चेल्सी क्लब विश्वकपको साविक विजेतासमेत हो । उसले २०२०-२१ को युएफा च्याम्पियन्स लिग जितेर २०२५ को क्लब विश्वकपमा स्थान पक्का गरेको हो ।
समूह 'डी' मा चेल्सी प्रष्ट रूपमा सबैभन्दा बलियो टोली मानिएको हो । चेल्सीलाई सिजभर लगातार गोल गर्न सक्ने स्ट्राइकरको अभाव महसुस भएको थियो । नयाँ अनुबन्धित लियाम डेलाप र कोल पार्मरले त्यो अभाव पूरा गर्ने आशा गरिएको छ ।
समूहमा चेल्सीलाई टक्कर दिन सक्ने टिम हो- फ्लामिङ्गो । ब्राजिलको फ्लामिङ्गोले २०२२ मा कोपा लिबर्तादोरेस जितेर यो प्रतियोगितामा छानिएको हो । उसले पछिल्ला ६ सिजनमा २ पटक महादेशीय उपाधि जितेको छ ।
फ्लामिङ्गो अहिले ब्राजिलियन लिग सिरि एको शीर्ष स्थानमा छ र यस टोलीको प्रशिक्षक पूर्वचेल्सी डिफेन्डर फिलिप लुइस हुन् । लुइसले छोटो समयमै प्रशिक्षकको रूपमा ३ उपाधि जितेका छन् र भविष्यमा सफल प्रशिक्षक बन्न सक्ने आत्मविश्वासको सिर्जना गरेका छन् ।
लस एञ्जलस एफसी कोन्काकाफ च्याम्पियन्स लिग २०२३ मा उपविजेता बनेको थियो । विजेता लियोन अयोग्य घोषित भएपछि एलए एफसी भाग्यवस विश्वकपमा सहभागी बनेको हो । ऊ क्लब अमेरिकालाई प्लेअफमा हराएर क्लब विश्वकपमा पुगेको हो । एलए एफसीमा चेल्सीका पूर्व खेलाडी ओलिभिए जिरू छन् ।
एस्पेरन्स डे ट्युनिस अफ्रिकाको सफल क्लब मानिन्छ । उसले ट्युनिसियन लिग ३४ पटक, ट्युनिसियन कप १६ पटक र क्याफ च्याम्पियन्स लिग ४ पटक जितेको छ । क्याफको उच्च स्थान पाएको टोली भएकाले उसले क्लब विश्वकप खेल्ने मौका पाएको हो ।