अवैध बसोबास गरिरहेका र कानुन उल्लंघनको आरोपमा अमेरिकाबाट नेपाली धमाधम फर्काइँदै

पीडितले सहयोग नगर्दा मानव तस्करीमा अनुसन्धान गर्न प्रहरीलाई सकस
जेष्ठ ३०, २०८२ |रमेश धमला
अवैध बसोबास गरिरहेका र कानुन उल्लंघनको आरोपमा अमेरिकाबाट नेपाली धमाधम फर्काइँदै

काठमाडौं । डनल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हाले यता अमेरिकाले गैरकानुनी रूपमा रहँदै आएका आप्रवासीलाई निस्कासन गर्ने क्रम तीव्र पारेको छ । 

मानव तस्करको चंगुलमा परेर अवैध बाटो हुँदै अमेरिका पुगेका अथवा अमेरिकी कानुन उल्लंघनको आरोपमा नेपालीहरू पनि धमाधम फर्काइएका छन् । त्यसरी फर्काइएकाहरूमाथि प्रहरीले अनुसन्धान गरेको छैन । पीडितहरू सहयोग नगर्दा अनुसन्धान अघि बढ्न नसकेको हो ।

यही जेठ २५ गते अमेरिकाले ३७ जना नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाड्यो । हत्कडी लगाएर ल्याइएका उनीहरूमध्ये एक जना डिभी परेर गएका व्यक्ति हुन् । बाँकी अवैध बाटोबाट अमेरिका पुगेका हुन् । 

त्यसरी फर्काइएकामध्ये १ जनासँग मात्रै राहदानी थियो । अन्यलाई ट्राभल डकुमेन्टकै भरमा नेपाल फर्काइएको हो । जसले उनीहरू सबै मा नव तस्करको सञ्जाल प्रयोग गरेर अमेरिका पुगेको देखिन्छ । 

अमेरिकाले फिर्ता गराएकाहरूको सूची नेपालस्थित अमेरिकी दूतावासले मानव वेचविखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराउँदै आएको छ । तर बिचौलियालाई लाखौं तिरेर अमेरिका पुगेकाहरूले प्रहरीमा कुनै उजुरी दिने गरेका छैनन् । यसलाई प्रहरीले असहयोगको रूपमा बुझेको छ । त्यही कारण अनुसन्धान गर्नसमेत कठिन भएको हो ।

त्यसो त गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा नेपालीलाई फर्काइएको यो पहिलो पटक होइन । मानव वेचविखन अनुसन्धान ब्यूरोको तथ्यांकअनुसार पछिल्लो ७ वर्षमा ३ सय ९० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । 

गत जनवरी २० मा डनल्ड ट्रम्पले सत्ता सम्हाले यता भने १ सय ६३ निस्कासनमा परेका छन् । त्यसअघि प्रत्येक वर्ष ७ देखि ८३ जनासम्म फर्काइएको तथ्यांक छ । नेपालबाट अवैध बाटो हुँदै अमेरिका पठाउने गिरोहका हस्तबहादुर गौतम २ वर्ष अघिनै पक्राउ परेर थुनामा छन् । 

१ करोड रुपैयाँसम्म बुझाएर झण्डै एक वर्षसम्म १० भन्दा बढी देशको कष्टकर यात्रा गरेर जानेहरू नेपालबाट भिजिट भिसा प्रयोग गरेरै गएका हुन् । अहिले पनि अमेरिका मात्रै होइन म्यानमार, लाओस, खाडी मुलुकमा समेत नेपाली जोखिममा छन् ।

अमेरिकाको सपना देखेर गिरोहलाई लाखौं बुझाएर हिँडेका कति नेपाली अझै बाटोमै अलपत्र परेका छन् त्यसको एकीन तथ्यांक छैन । अहिले फर्काइएहरूले प्रहरी अनुसन्धानमा सहयोग गर्ने हो भने मानव तस्करको सञ्जाल तोडिन सक्छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।