काठमाडौं । पूर्वी नेपालबाट जेठ १५ गते प्रवेश गरेको मनसुन अहिले बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा समेत फैलिएको छ । आज दिउँसो काठमाडौंसहित आसपासका जिल्लामा भारी वर्षा भयो ।
योसँगै नदीको बहाव बढ्दा तटीय क्षेत्रमा बस्नेहरुमा त्रास सुरू भयो । मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन पूर्वी र मध्य क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यो बेला सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा लगातार केही घन्टा पानी पर्यो भने डुवान सुरू हुन्छ । जनजीवन पनि प्रभावित हुन्छ । बाढी र पहिरोजन्य प्रकोपको जोखिममा रहेका जिल्लाहरुमा पनि केहि घण्टाको वर्षाले भय बढाउँछ ।
गत वर्षको मनसुनजन्य विपद्बाट संकटमा परेका २० जिल्लाका ७१ स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त घोषणा गरेको थियो । यो वर्ष पनि झन्डै २० लाख नागरिक मनसुनजन्य विपद्को जोखिममा रहेको सरकारी आंकलन छ । तर तीनै तहका सरकारको विपद् जोखिम न्यूनीकरणको तयारी छैन ।
कागजमा मनसुन प्रतिकार्य योजना बनाएर बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थानीय तह र प्रदेशलाई देखाएर पन्छिने गरेको छ ।
प्रदेश र स्थानीय तहहरूले पनि संघले जारी गरेको विपद् प्रतिकार्य योजनाअनुसार काम गर्न सकेका छैनन् । उनीहरुले योजना बनाए पनि स्रोत साधनको अभाव देखाएका छन् । संघीय सरकारले स्रोतको व्यवस्थापन नगरे प्रतिकार्य योजना सोचे जस्तो नहुने उनीहरुको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले यो वर्ष सामान्यभन्दा धेरै पानी पर्ने अनुमान गरेको छ । सरकारले तयारी बढाउन सक्ने समय अझै छ । सँगै नागरिक स्वयं पनि जोखिम कम गर्न तयार रहनुको अर्को विकल्प छैन ।