नेपालमा नयाँ चरा मलवर हुस्लिङ थ्रस फेला

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा नयाँ चरा मलवर हुस्लिङ थ्रस फेला

कपिलवस्तु । नेपालमा नयाँ चरा मलवर हुस्लिङ थ्रस फेला परेको छ । बुटवलस्थित लुम्बिनी केबलकार स्टेसनको बेस नजिकै पहिलो पटक नयाँ प्रजातिको चरा फेला परेको हो ।

गत जेठ १६ गते शुक्रबार चरा सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको पंक्षी संरक्षण संघका अध्यक्ष विमल थापाले बताउनुभयो । यो चरा पन्छी संरक्षण संघ बुटवल फिल्ड अफिसमा कार्यरत परियोजना अधिकृतद्वय देउबहादुर राना र अमृत नेपालीले देखेर तस्बिर र भिडियो खिच्नुभएको थियो । 

चरासम्बन्धी काम गर्ने वर्ड लाइफ इन्टरनेशनल, बेलायत र बेम्बे नेचर हिस्ट्री सोसाइटी भारतका चरा विशेषज्ञले यो चरा मलवर हुस्लिङ थ्रस रहेको पुष्टि गरेको अध्यक्ष विमल थापाले बताउनुभयो । यो फिरन्ते चराका रूपमा नेपालमा देखिएको हो । अनौठो निलो रङको चरा देखिएपछि सुरुमा यो नेपालमा पाइने 'ब्लु हुस्लिङ थ्रस' हो भन्ने अनुमान गरिएको थियो । तर अभिलेखकर्ता देउबहादुर रानाले भने यो चराको आनीबानी, आवाज र स्वभाव फरक देखेर विज्ञसँग सल्लाह लिँदा नेपालकै लागि नयाँ चरा पहिचान भएको हो । 

यो चार भारतको ओडिसा, सतपुडा र मध्य भारतमा मात्र पाइन्छ । यससँगै नेपालमा पाइने चरा प्रजातिको संख्या ९०१ पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.