बिलिङ प्रणाली अनियमितता प्रकरण : नाम जोडिएका २३ जनामाथि अख्तियारले मुद्दा नचलाउने

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिलिङ प्रणाली अनियमितता प्रकरण : नाम जोडिएका २३ जनामाथि अख्तियारले मुद्दा नचलाउने

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली अनियमितता प्रकरणमा नाम जोडिएका २३ जनालाई भने अख्तियारले मुद्दा चलाएन ।

उक्त प्रकरणमा छानबिनमा परेका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्याल र हरिप्रसाद बस्यालसहित २३ जनालाई मुद्दा नचलाइएको हो ।

अख्तियारले तत्कालीन सञ्चालक समितिका अध्यक्ष बैकुण्ठ अर्याल र हरिप्रसाद बस्याल, सदस्यहरू भुपाल बराल, सहसचिव उत्तरकुमार खत्री, शंकर लामिछाने, कम्पनी सचिव राजेन्द्र अर्याल तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठ, तत्कालीन निर्देशक राधाकृष्ण ढुङ्गेल र नायव प्रबन्धक निर्देशक मिनु प्रधानलाई मुद्दा नचलाएको हो । 

यस्तै निर्देशक सविना मास्के, प्रबन्धकहरु हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुवोध रिमाल, शोभन अधिकारी र अनुप रेग्मी, उपप्रबन्धकहरु मणिराज पौडेल, सुदिपराज घिमिरे, सरोज प्रधान र सन्तोष भण्डारी, वरिष्ठ ईन्जिनियर प्रयाग खड्काविरुद्ध पनि अनुसन्धान भएकोमा मुद्दा चलाइएको छैन ।

उनीहरू २०७९ भदौ १९ गते कम्पनीको आर्थिक विनियमावली २०७१ को विनियम ३५ (२) (क) बमोजिम गठित विशेषज्ञ समितिमा नरहेको र आमन्त्रित भूमिकामा मात्रै देखिएको भन्दै मुद्दा नचलाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

भ्रष्टाचारजन्य कसुरमा संलग्न भई कसुरयोग्य कार्य गरेको थप प्रमाण प्राप्त भई मुद्दा दायर गर्नुपरेमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ (ग) र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ लगायतको प्रचलित कानुन बमोजिम हुने नै हुँदा हाललाई केही गरिरहन नपर्ने निर्णय अख्तियारले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.