अन्डर-१४ नेसनल क्रिकेट च्याम्पियनसिप: कोशी, लुम्बिनी र मधेशको शानदार जित

जेष्ठ २५, २०८२ |खेल ब्युरो
अन्डर-१४ नेसनल क्रिकेट च्याम्पियनसिप: कोशी, लुम्बिनी र मधेशको शानदार जित

काठमाडौं । अन्डर फोर्टिन विद्यालय खेलकुद अन्तर्गतको नेसनल क्रिकेट च्याम्पियनसिपमा कोशी, लुम्बिनी र मधेश प्रदेशले जित हासिल गरेका छन। माथिल्लो मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो।

कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय नौ रन बनाएको थियो। जवाफमा कोशीले दुई विकेटमात्रै गुमाएर एक सय १० रनको लक्ष्य १५ ओभर दुई बलमा नै पुरा गरेको हो।

सुदूरपश्चिमका लागि सातौं नम्बरका अन्जित धामीले १९ बलमा सर्वाधिक २१ रन बनाए। कोशीका लागि मोहम्मद फैज अन्सारीले तीन विकेट आफ्नो नाममा गरेका थिए। 

जवाफमा कोशीका लागि अग्लस अधिकारी र उत्तम राजभण्डारीले ६८ रनको साझेदारी गरेर आफ्नो टिमलाई जित दिलाएका हुन्। अधिकारीले ५२ बलमा अविजित ५६ रनको योगदान गरे। 

राजवंशीले २६ रन जोड्न सके। सुदूरपश्चिमले ८ जना फरक-फरक बलर प्रयोग गरे पनि जित निकाल्न सकेन। विहानको दोस्रो खेलमा लुम्बिनीले बागमतीलाई तीन रनले हरायो। 

९२ रनको लक्ष्य पछ्याएको बागमती १९ ओभर तीन बलमा ८८ रन मात्रै बनाएर अलआउट भएपछि लुम्बिनी विजयी भएको हो। यो खेलमा बागमतीका युगान्त कार्कीले चार विकेट लिएका थिए। लो स्कोरिङ खेलमा लुम्बिनीका सुरज यादव, आषिश नाउ र सक्षम बुढाथोकीले धारिलो बलिङ गरेर आफ्नो टिमलाई जित दिलाएका हुन्।

आजको तेस्रो खेलमा भने मधेशले कर्णाली प्रदेशमाथि नौ विकेटको सानदार जित हात पारेको छ। १३ ओभर पाँच बल मैदानमा टिकेको भएपनि कर्णालीले १४ रन मात्रै बनाएर सबै विकेट गुमायो। यसक्रममा मधेशका मोहम्मद ओजेफ अलीले चार विकेट लिएका थिए। जवाफमा एक ओभर दुई बलमा नै मधेशले लक्ष्य पुरा गरेर जित निकालेको हो।