काठमाडौं । युएफा नेसन्स लिगको उपाधिका लागि आज राति आइबेरियन छिमेकी पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् ।
म्युनिखको एलियान्ज एरिनामा खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरू हुनेछ । दुवै टोली दोस्रोपटक यो प्रतिष्ठित उपाधि जित्ने होडमा छन । सन् २०२३ को च्याम्पियन स्पेन उपाधि रक्षा गर्ने लक्ष्यमा हुने छ भने २०१९ को च्याम्पियन पोर्चुगल ६ वर्षपछि उपाधि आफ्नो बनाउने योजनामा हुनेछ ।
सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई दुई-एक गोलले हराएको थियो । उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । दुई सय २०औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका रोनाल्डो अझै पनि निर्णायक क्षणमा चम्किरहेका छन । अर्कोतर्फ, स्पेनिस फुटबलको भविष्य लामिन यमाल फ्रान्सविरूद्ध दुई गोल गर्दै ५-४को अविश्वसनीय जितमा नायक सावित भएका थिए ।
१७ वर्षीय यमाल र ३९ वर्षीय रोनाल्डोबीच हुने दुई फरक युगको भियन्त यस फाइनलको मुख्य आकर्षण हुनेछ । स्पेनले हालसम्म प्रतियोगितामा २३ गोल गरिसकेको छ । जसमा मिकेल ओयार्जाबाल, फाबियन रूइज र यमालको प्रदर्शन प्रभावशाली देखिएको छ । प्रशिक्षक लुइस डे ला फुएन्टेको रणनीति सानदार सावित हुँदै आएको छ ।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले सेमिफाइनलमा केही प्रयोग गरे । कन्सेसाओ र विटिन्हाको आगमनले टोलीलाई बलियो बनाएको थियो । आज रूवेन नेभेस, ट्रिन्काओजस्ता नामहरू स्टार्टिङ लाइनअपबाट बाहिर हुन सक्छन् ।
पोर्चुगलका लागि रोनाल्डोले अग्रपंक्तिको नेतृत्व गर्ने तय छ । सेमिफाइनलमा निर्णायक प्रदर्शन गरेका फ्रान्सिस्को कन्सेसाओ सम्भवतः सुरूवातमै खेल्नेछन् । स्पेनका कप्तान अल्भारो मोराटा बेन्चबाट आउने सम्भावना छ । फाबियन रूइज मिडफिल्डमा पुनः र्फकनेछन् भने रोड्रीको फिटनेस चिन्ताको विषय बनेको छ । तेस्रो स्थानका लागि आज साँझ पौने ७ बजे जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।