भ्रष्टाचारविरूद्ध युवाहरू आन्दोलनमा, राजविराज नगरपालिकामा तालाबन्दी

उता केही कर्मचारी पनि छुट्टै आन्दोलनमा !
जेष्ठ २५, २०८२ |आरएन विश्वास
भ्रष्टाचारविरूद्ध युवाहरू आन्दोलनमा, राजविराज नगरपालिकामा तालाबन्दी

सप्तरी । राजविराज नगरपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले आज प्रदर्शन गर्दै पालिका कार्यालयमा तालाबन्दी गरेका छन ।

आर्थिक वर्षको अन्त्यमा काबा नगर प्रमुख इसरत परविनले उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतको सरूवा गराई अधिकृत स्तरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइ थप अनियमितता गर्न खोजेको युवाहरूको आरोप छ । सीसीटिभी खरिद, लामखुट्टे विरूद्धको ओषधि खरिदसहितमा नगरपालिकाले अनियमितता गरेको युवाहरूको भनाई छ ।

नगरपालिकामा तालाबन्दी गर्नु अघि युवाहरूले नगर परिक्रमा गर्दै विरोध जुलुस प्रदर्शन गरेका थिए । उक्त जुलुसमा हाल निलम्बनमा पर्नुभएका राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवसमेत सहभागिता थियो ।

यता राजविराज नगरपालिकाका करारका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतविरूद्ध कारबाहीको माग गर्दै शुक्रबारदेखि थालिएको धर्ना आज पनि जारी नै छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समितिको अगुवाइमा आन्दोलनरत करारका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साह र योजना अधिकृत मनोज यादवले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै कारबाही तथा सरूवाको माग गरेका छन ।

तर, आज नगरपालिकामा तालाबन्दी गरेका युवाहरूले भने ठ्याक्कै उल्टो माग राख्दै प्रमुख प्रशासकीय अधिकृतमा डा. साह नै कायम रहनुपर्ने माग गरिरहेका हुन् ।

श्रोतका अनुसार यहीबीचमा नगरपालिकाकी काबा नगर प्रमुख इसरत परविनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापना गराउने प्रयासमा हुनुहुन्छ ।

आर्थिक वर्षको अन्तिममा नगरपालिकामा दुईतर्फी द्वन्द्व देखिएपछि राजविराज नगर क्षेत्रमा विकास निर्माणको काम प्रभावित हुने भएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।