ताप्लेजुङ । एक भारतीय नागरिक सहित पाँच जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आठ ग्राम खैरो हिरोइन, क्याप्सुल लगायतका सामग्री सहित उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमका अनुसार सबै अभियुक्त फुङलिङ नगरपालिकाबाट पक्राउ परेका हुन् ।
फक्ताङलुङ गाउँपालिका २ घर भई फुङलिङ ६ बस्दै आएका विमर्स सुन्दास, वडा नम्वर १० का नबिन गुरुङ र सांकेतिक नम्बर इ भएका एक व्यक्ति पक्राउ परेको प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उनीहरु तिनै जनाको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी लेखिएको ११६ पिस र डाइसाइक्लोमिन एचसिएल ट्याब्लेट ५९ पिस फेला परेको बस्नेतले बताउनुभएको छ। उनीहरु तीनजनासँग सोदखोज तथा अनुसन्धानको क्रममा लागु औषध समेतको कारोबार हुन्छ भन्ने सूचनाको आधारमा कारोवारी समेत रहेका थप दुईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ६ पाथीभरा चोकका सुजन तामाङ र भारत वेस्ट वंगालका निपेन वर्मन रहेका छन् । २३ वर्षिय वर्मनले लागु औषध खैरो हिरोइनको कारोवार, वेचविखन र ओसारपसार गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको छ। उनीहरुको साथबाट तौलने तराजु, मोवाइल, नगद समेत वरामद गरिएको छ । प्रहरी नायव उपरीक्षक गौतमका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रकृया अघि बढाइएको छ।