बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा ४० घरपसलहरू जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बजारको एक होटलबाट खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलागीको क्षतिको आकलन भइसककेको छैन । हावाहुरीका कारण आगो नियन्त्रणमा लिन सकस भएको थियो । आगलागीपछि बाम्का बजारमा फाइबर इन्टरनेट र विद्युत सेवासमेत अवरोध भएको छ।
यसैबीच बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायको नेतृत्वमा गएराति बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले आजदेखि क्षतिको आकलनसँग पीडितलाई अस्थायी बसोबासका लागि कम्बल त्रिपाललगायतका राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।
क्षति ठूलो भएकाले स्थानीय सरकारको स्रोतले नभ्याउने हुँदा राहतका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिनुभयो ।