पतञ्जलिले किनेको जग्गामा कतै कलेज, कतै अस्पताल, कतै बाँझै

जेष्ठ २२, २०८२ |पुजन धिताल
पतञ्जलिले किनेको जग्गामा कतै कलेज, कतै अस्पताल, कतै बाँझै

काभ्रे । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएपछि काभ्रेमा पतञ्जलि आयुर्वेदले जग्गा खरिद गर्न सुरु गरेको थियो । पतञ्जलिले सुरुमा साबिकको नासिकास्थान-४ मा २०६६ सालदेखि पटक पटक गरी ५७३ रोपनी जग्गा खरिद गर्‍यो । खरिद गरेको केही समयमै उद्देश्यभन्दा फरक ढंगले बेचबिखन गर्‍यो । हाल मालपोतको रेकर्डमा साँगाको जग्गा पतञ्जलिको नाममा छैन ।

२०६७ साल साउन ६ गतेदेखि पतञ्जलिले साबिक श्रीखण्डपुर गाउँ विकास समिति वडा नं ७, हाल धुलिखेल नगरपालिका वडा नं ३ मा १०७ रोपनी जग्गा खरिद गरेको जिल्ला मालपोतको रेकर्डमा छ । यहीँको केही जग्गा समेत पतञ्जलिकै कर्मचारीको नाममा रहेको मालपोतले जनाएको छ ।

आयुर्वेद विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग, जडिबुटी खेती गर्न भनी पतञ्जलि योगपीठ नेपालले काभ्रेको विभिन्न स्थानमा जग्गा खरिद गरेको थियो । २०६६ मा सरकारले दिएको हदबन्दी छुटमा पतञ्जलिले आयुर्वेद फर्म चलाउने भनेर काभ्रेको विभिन्न स्थानमा किनेको जग्गामा अहिले कतै कलेज तथा अस्पताल सञ्चालनमा छ भने कतै बाँझै छ ।

काभ्रेको साबिक नासिका गाउँ विकास समितिको वडा नं ९, महेन्द्र ज्योति गाउँ विकास समितिको वडा नं ४, चलाल गणेशस्थान गाउँ विकास समिति वडा नं ५ र ९ , श्रीखण्डपुर गाउँ विकास समिति वडा नं ७ मा आयुर्वेद विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग, जडिबुटी खेती गर्ने उद्देश्य राखी सरकारले दिएको हदबन्दी छुटमा पतञ्जलि योगपीठ नेपाललाई जग्गा खरिदको अनुमति दिएको हो ।

हाल बनेपा नगरपालिका वडा नं १४ मा करिब ६.५ रोपनी क्षेत्रफल, साबिक चलाल गणेशस्थान गाउँ विकास समिति वडा नं ५ र ९, हाल बेथानचोक गाउँपालिका वडा नं ४ मा २३९.५ रोपनी क्षेत्रफल र साबिक श्रीखण्डपुर गाउँ विकास समिति वडा नं ७, हाल धुलिखेल नगरपालिका वडा नं ३ मा १०८ रोपनी क्षेत्रफल जग्गा अहिले पतञ्जलि योगपीठ नेपालको नाममा रहेको मालपोत अधिकृत गंगाप्रसाद पोखरेलले जानकारी दिनुभयो।

२०६५ भदौ ३ गतेदेखि २०७२ जेठ ७ गतेसम्म विभिन्न मितिमा ती स्थानमा पतञ्जलिले जग्गा खरिद तथा बिक्री गरेको कार्यालयको विवरणमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०८१ साल असार १८ गतेको पत्र अनुसार र केन्द्रीय अनुसन्धान ब्युरोको २०८१ साल कात्तिक ११ को पत्र अनुसार पतञ्जलिबाट विभिन्न मितिमा व्यक्तिले नै खरिद गरेको भएता पनि पतञ्जलिले ५७३ रोपनी नै व्यक्तिकै जग्गा समेत रोक्का राख्न अख्तियार र सीआईबीले पत्राचार पश्चात रोक्का राखेको मालपोत कार्यालय काभ्रेले जनाएको छ ।

एउटै उद्देश्य राखी पतञ्जलिले विभिन्न स्थानमा जग्गा खरिद गरेकोमध्ये साबिक श्रीखण्डपुर गाउँ विकास समिति वडा नं ७, हाल धुलिखेल नगरपालिका वडा नं ३ मा मात्रै पतञ्जलि आयुर्वेदसँग सम्बन्धित रिसर्च सेन्टर तथा आयुर्वेद अस्पताल सञ्चालनमा छ । पतञ्जलि योगपीठ नेपालले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिर्सच सेन्टर सञ्चालन गरिरहेको हो ।

आज अख्तियारले तत्कालीन प्रधानमन्त्रीसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोही प्रकरणमा अब तत्कालीन कर्मचारी तथा अहिले जनप्रतिनिधि समेत मुछिने देखिएको छ । अख्तियारले तत्कालीन मालपोत काभ्रेका सुब्बाहरू विनोद कोइराला, रामकृष्ण खत्री, हरिशरण श्रेष्ठ, रामकाजी श्रेष्ठ तथा अहिलेका धुलिखेल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवं तत्कालीन खरिदार बद्रीप्रसाद हुमागाईं, गुठी संस्थान काभ्रेका तत्कालीन वरिष्ठ सहायक पवन बजगाईं तत्कालीन सनराइज बैंकका प्रतिनिधिसहित तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत नवराज बस्नेत लगायतका खरिदारहरू तथा तत्कालीन अवस्थामा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापक सदस्य शालिकराम सिंहसहितलाई मुद्दा दायर गरिएको हो ।

मालपोत कार्यालय काभ्रेका अनुसार पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापक सदस्य शालिकराम सिंहको नाममा समेत केही जग्गा रहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।