काठमाडौं । कान्तिपुर टेलिभिजन सल्यान संवाददाता सरिता चलाउनेलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उहाँलाई ४० हजार रुपैयाँ राशिको वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
चलाउनेले विगत १० वर्षदेखि वन तथा वातावरणसँग सम्बन्धित विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ । विशेष गरी उहाँले जिल्लामा वन वातावरण, जलवायु परिवर्तनको असरबारे रिपोर्टिङ गर्नुभएको थियो । सोही रिपोर्टहरूका आधारमा उहाँलाई पुरस्कृत गरिएको हो । स्थानीय स्तरमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिमा पत्रकार चलाउनेको योगदान उल्लेखनीय रहेको छ ।
यसअघि पनि उहाँले अन्तराष्ट्रिय इन्जा पत्रकारिता पुरस्कार, रोटरी इन्टरनेसनल जर्नो अवार्ड, पहिलो कर्णाली प्रदेश पत्रकारिता पुरस्कार लगायतका सम्मान प्राप्त गरिसक्नुभएको छ ।