बाढीले भोटखोलाको ५ वटा काठेपुल बगायो

जेष्ठ २१, २०८२ |दीपेन्द्र शाक्य
बाढीले भोटखोलाको ५ वटा काठेपुल बगायो

संखुवासभा । भोटखोला गाउँपालिकाको विभिन्न वडामा रहेका ५ वटा काठेपुल बुधबारको बाढीले बगाएको छ । जिल्ला प्रहरीका प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार भोटखोला १, २ र १, ३ जोड्ने धुङगोपा खोलामा रहेको १५/१५ मिटर लामो २ वटा काठेपुल बगाएको हो । 

त्यस्तै भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । उता भोटखोला १ र ३ जोड्ने छोकाङ खोलामा रहेको २० मिटर लम्बाइ भएको काठे पुल बगाएको उहाँले बताउनुभयो । बस्नेतका अनुसार भोटखोला १ र ३ जोड्ने माप्च्या खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । भोटखोलामा बाढी र पहिरो यो वर्ष धेरै स्थानमा गएको स्थानीयले बताएका छन् ।

यसैगरी मकालु गाउँपालिका–२ मा अविरल वर्षासँगै आएको पहिरोले एउटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । मंगलबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय फुनुर्बु शेर्पाको ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्णरूपमा भत्किएको प्रहरीले जनाएको छ ।

पहिरोले मानवीय क्षति भएको छैन । शेर्पा सेदुवास्थित आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ । उत्तरी क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आएको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि झन्डै २५० घरधुरी विद्युत्‌विहीन भएका छन् ।

माथिल्लो क्षेत्रहरूमा अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सम्भावित थप जोखिमप्रति स्थानीय बासिन्दाहरू सतर्क रहन प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले आग्रह गर्नुभएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।