काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टीले नैतिकताको हिसाबले संसदको नेतृत्व (सभामुख देवराज घिमिरे)ले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो ।
पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुलिङ पिरियड समितिमा भएको सहमतिअनुसार सदनमा जान नसेकेको बताउनु भयो । यस घटनाले सिंगो सदन, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको उहाँले बताउनु भयो ।
यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न भएको उहाँकाे भनाइ छ । यसले सार्वभौम संसद्को आत्मामाथि प्रहार गरेको र संसद्माथिको धोका, मानमर्दन भएको उहाँले बताउनु भयो ।
सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएका माओवादीको ठहर छ ।
यो एकाध व्यक्तिहरूको मात्रै दुःशासह नभइ सुनियोजित तरिकाले गरिएको धृष्टता भएको उहाँले बताउनु भयो । प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानविन गरी सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो ।
विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न माग गरेको छ ।