कतै जाऊँ गाडी छैन, राइड शेयरिङ गर्न पैसा छैन

जेष्ठ २०, २०८२ |कृपाल गौतम
कतै जाऊँ गाडी छैन, राइड शेयरिङ गर्न पैसा छैन

काठमाडौं । यातायात व्यवसायीले लगातार यातायात ठप्प पार्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । नागरिकले उपचारका लागि अस्पताल जान समेत गाडी पाएनन् भने विदेश जानेहरू हिँडेरै एअरपोर्ट जान बाध्य भए । कतिपय त राइड शेयरिङ प्रयोग गर्ने पैसा समेत नहुँदा बिलखबन्द थिए ।

दिउँसो करिब १ बजेतिर सुनिता यादव आमालाई वीर अस्पतालको गेटभित्र डोर्‍याउँदै हुनुहुन्थ्यो । बैशाखीको सहारामा हिँड्नुपर्ने आमाको उपचारका लागि इमाडोलबाट १० बजे नै अस्पताल आउनुपर्ने थियो । तर सार्वजनिक यातायात नचलेकाले निकै समस्या भोग्नुपर्यो । गाडी पाइएन, त्यसमाथि ट्याक्सीले महँगो भाडा असुल्यो ।

“गाडी नहुँदा समस्यै समस्या छ नि, टाइममा पुग्न पाइनँ, टाइममा जचाउँन पाइनँ, धेरै लामो लाइन थियो । भोकै लाइनमा बस्नुपर्यो, अहिलेसम्म भोकै छु खाएको छैन बिरामी पनि भोकै हुनुहुन्छ”, इमाडोल निवासी सुनिता यादवले बताउनुभयो ।

सार्वजनिक यातायात नचलेकाले मानिसहरू सकीनसकी हिँडेरै यात्रा गर्न बाध्य भए । कोही भने गाडी पाउने आसमा कुरिरहेका भेटिए । परिवारसँग बिछोडिएर विदेश जानुपर्दाको पीडा त छँदै थियो । त्यसमाथि झिटिगुन्टा बोकेर हिँड्दै एअरपोर्ट जानुपर्दा झनै नरमाइलो ।

“म चाबेलबाट गोंगबु गएँ । फेरि बानेश्वर गएर मार्केटिङ अर्डर पुर्‍याएँ । समस्या भएको छ नि २० रुपैयाँले हुन्थ्यो भने पठाओमा चढ्यो भने २०० रुपैयाँ तिर्नुपर्छ । गाह्रै छ । थाकिन्छ नि, थाकेर के गर्नु गरिबको जिन्दगी हो गरिब भएपछि त हिँड्नै पर्यो समस्या गर्नै पर्‍यो”, चाबहिल निवासी कल्पना पोखरेलले बताउनुभयो ।

पैसा हुनेलाई महँगो पैसा तिरेर राइड शेयरिङ प्रयोग गर्न कुनै समस्या भएन । तर सबैसँग पैसा हुन्छ नै भन्ने छैन । रत्नपार्कमा भेटिएका केही ज्येष्ठ नागरिक काम विशेषले भंगालबाट रत्नपार्क आउनुभएको थियो । उहाँसँग गोजीमा ५० रुपैयाँ मात्र रहेछ । राइड शेयरिङ गर्न त्यतिले के पुग्थ्यो ।

“म भ‌ंगालदेखि आएको । आउँदा जेनतेन आएँ । जाँदा मसँग पैसा छैन अब हिँडेर जानुपर्ने भएको छ । अहिले मोटरसाइकलले त २५० देखि ३०० माग्छ, मसँग ५०-६० रुपैयाँ छ”, भंगालबाट आउनुभएका डिल्लीप्रसाद सिंखडाले बताउनुभयो ।

कसैलाई यी समस्या सानो लाग्ला । तर जसलाई पर्छ उसका लागि भयंकर हो । सार्वजनिक यातायात नचल्दा अधिकांश यात्रुले आक्रोशचाहिँ यातायात व्यवसायीविरुद्ध पोखेएको पाइयो।

सार्वजनिक यातायात सेवा अत्यावश्यक सेवाभित्र पर्छ र यसलाई बन्द गर्न पाइँदैन । तर यातायात व्यवसायीहरूले कुनै कुरामा आफूलाई चित्त नबुझेको भन्दै अहिले देशभर सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् । व्यवसायीहरूलाई कुनै चिजमा चित्त नबुझेको भए वार्ता र संवादद्वारा समस्याको समाधान गर्न सकिन्थ्यो होला तर, त्यसो नगरेर दुःख दिने बाटोतर्फ लागे । त्यसले उनीहरू नागरिकप्रति कति गैरजिम्मेवारी छन् भन्ने प्रस्ट पारेको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।