पुलको सामान चोरेर बेचेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

जेष्ठ २०, २०८२ |पुजन धिताल
पुलको सामान चोरेर बेचेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ का वडा अध्यक्ष अशोककुमार गौतम पुलको सामग्री चोरी गरी बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले थानसिङ बेंसीस्थित फलामको पक्की पुल बगाएको थियो । उक्त पुलका बाँकी रहेका फलामका सामग्रीहरू कबाडी व्यवसायीमार्फत बिक्री गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले गौतमलाई पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धान अनुसार, गौतमले छिमेकी नमोबुद्ध नगरपालिका-६ का वडाध्यक्ष टीकाबहादुर केसीसँग मिलेर पुलका बाँकी सामानहरू आधा-आधा बाँड्ने सहमतिमा कबाडीलाई बिक्री गरेका थिए । सोही आरोपमा गौतमलाई सोमबार पक्राउ गरी आज अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि प्रहरी टोलीले चोरी भएको भनिएको सामग्री बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका दुई वटा टिपरमा लोड गरिएको अवस्थामा फेला पारेर चार जनालाई नियन्त्रणमा लिएको थियो । गौतम पक्राउ परेसँगै पक्राउ पर्नेको संग्ख्या ५ पुग्यो । 

गौतम २०७९ स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।  


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।