पूर्वसभामुख सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने, के थियो घटना ?

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने, के थियो घटना ?

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दामा अनुसन्धान अघि बढ्ने गरी परमादेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संयुक्त इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय खारेज गरेको हो ।

काभ्रेकी पूर्णिमाया लामाले पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटासहित ६ जनाविरुद्ध २०६४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ सालमा उक्त जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो । 

पूर्णिमायाले त्यसविरुद्ध २०६९ मंसिर ९ गते सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो । काभ्रेका अर्जुन लामालाई २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको आरोप छ ।

के थियो घटना ?

काभ्रेको छत्रेबाँझस्थित श्रीकृष्ण माविको व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका अर्जुन लामालाई २०६२ वैशाख १६ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएकै दिन लामालाई माओवादीले ‘केही कुराकानी गरी फर्काउने’ भन्दै विद्यालयबाटै लिएर गएका थिए । त्यसपछि उहाँ फर्केर आउनुभएन ।

पति हराएपछि अर्जुनकी श्रीमती पूर्णिमाया लामाले २०६४ मा तत्कालीन माओवादी नेता अग्नि सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिन काभ्रे जिल्ला प्रहरी कार्यालय पुग्नुभयो । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेन । त्यसपछि पूर्णिमायाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएपछि अदालतले जाहेरी दर्ता गरी कानुनबमोजिम कारबाही गर्न आदेश दियो । 

त्यसपछि सापकोटा लगायत विरुद्ध काभ्रे प्रहरीमा मुद्दा दर्ता भयो । जाहेरीमाथि अनुसन्धान सुरु भयो । सापकोटाले मानवअधिकार उल्लंघन गरेको भन्दै काभ्रे प्रहरीद्वारा पक्राउ पुर्जी पनि जारी भयो । तर, २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले उक्त जाहेरी तामेलीमा राख्ने निर्णय गर्‍यो । सरकारको यो निर्णयविरुद्ध पूर्णिमाया २०६९ मंसिर ७ गते सर्वोच्च पुग्नुभयो । त्यसपछि सर्वोच्चले तामेलीमा राख्नुको कारण माग्दै अन्तरिम आदेश जारी गर्‍यो भने २०७० असार १९ मा अदालतले मिसिल झिकाउने आदेश गर्‍यो । 

२०७२ चैत २२ मा न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सापकोटा २०७६ मा सभामुख निर्वाचित हुनुभयो । त्यसपछि उहाँविरुद्ध दायर मुद्दा २०७६ देखि २०८० सम्म लगातार हेर्न नभ्याइनेमा पर्दै आयो ।

पूर्णिमायाले पतिको अपहरणपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगलगायत द्वन्द्वसँग सम्बन्धित संघसंस्थामा समेत निवेदन दिनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा पनि लामाको अपहरणपछि माओवादी कार्यकर्ताहरूले यातना दिएर हत्या गरेको खुलेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.