दर्खेखोलामा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

जेष्ठ २१, २०८२ |पुजन धिताल
दर्खेखोलामा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

काभ्रे । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका–६, भुग्देउतर्फ जाँदै गरेको यात्रुबस आज दिउँसो बेथानचोक–६ स्थित दर्खेखोलामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा तीन जना घाइते भएका छन् । 

दुर्घटनामा ६५ वर्षकी बनेपा-९ बस्ने कृष्णमाया तिमल्सिनाको घटनास्थलमै निधन भएको काभ्रे प्रहरीले जनाएको छ । मृतकसँगै रहेकी करिब १ वर्षीया नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।

घाइतेमध्ये बस चालकको खुट्टामा चोट लागेको छ । त्यस्तै, संगीता आचार्य तिमल्सिनाको खुट्टामा चोट लागेको छ । घाइतेलाई थप उपचारको लागि शिर मेमोरियल अस्पताल रिफर गरिएको काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर धलेले जानकारी दिनुभयो ।

स्थानीय अनिल तामाङका अनुसार दुर्घटनापछि तत्काल उद्धार गरी घाइतेहरूलाई अस्पताल लगिएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।