धुलिखेलमा बाढी र पहिरोले क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्निर्माण सुरू, जर्मन सरकारको सहयोग

जेष्ठ २२, २०८२ |पुजन धिताल
धुलिखेलमा बाढी र पहिरोले क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्निर्माण सुरू, जर्मन सरकारको सहयोग

काभ्रे । असोज दोस्रो साता आएको बाढी र पहिरोले क्षतिग्रस्त पारेको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाको पुनर्निर्माण सुरू गरिएको छ। पुनर्निर्माण कार्य जर्मन सरकारको सहयोगमा अगाडि बढाइएको हो।

पनौती नगरपालिका-१२ स्थित मुहान क्षेत्रमा आज आयोजित एक विशेष कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत डा. माइकल कोच र धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

उक्त आयोजना पुनर्निर्माण गर्न कुल रू. ३ करोड ५१ लाख खर्च हुने जनाइएको छ। जसमध्ये ६० प्रतिशत, अर्थात् रू. २ करोड १० लाख जर्मन सरकारको अनुदानमार्फत् प्राप्त भएको नगरप्रमुख ब्याञ्जुले जानकारी दिनुभयो। बाँकी ४० प्रतिशत रकम धुलिखेल नगरपालिका र उपभोक्ता समितिले जुटाउनेछ।

३२ वर्षअघि पनि यही आयोजना जर्मन सरकारकै सहयोगमा निर्माण गरिएको थियो। हालको प्राकृतिक विपत्तिपछि धुलिखेल नगरपालिकाले पुनः जर्मन दूतावाससँग सहयोगको अनुरोध गरेको थियो। सो अनुरोधअनुसार जर्मन सहयोग नियोग जिआइजेडमार्फत् रकम उपलब्ध गराइएको हो।

प्राप्त रकमबाट आयोजनाको इन्टेक, पाइपलाइन तथा अन्य भौतिक संरचना पुनर्निर्माण गरिनेछ। बाढीपहिरोको कारण आयोजनामा क्षति पुग्दा नगरका वडा नं. ३, ४, ५, ६ र ८ का हजारौं उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए। त्यसपछि करिब रू. २० लाख खर्चेर अस्थायी रूपमा पानी आपूर्ति व्यवस्था मिलाइएको थियो।

राजदूत डा. कोचले प्राकृतिक विपद्का बेला मानिसको जीवनमा सबैभन्दा आवश्यक खानेपानी सेवामा क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै, जर्मन सरकारको सहयोगले आयोजनाको पुनःस्थापनामा टेवा पुग्ने बताउनुभयो। साथै, उहाँले मुहान क्षेत्रलाई सुरक्षित बनाउने दीर्घकालीन उपायहरू अवलम्बन गर्न सुझाव दिनुभयो।

पनौती नगरपालिका-१२स्थित पालपाले गाउँमा रहेको मुहान क्षेत्र र त्यहाँबाट ल्याइएको मुख्य पाइपलाइन करिब दुई किलोमिटर क्षेत्रमा क्षतिग्रस्त भएको हो। यही मुहानबाट सप्तकन्या क्षेत्र हुँदै झारिएको खानेपानी हाल ३,२०० घरधुरीले प्रयोग गर्दै आएका छन।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।