काठमाडौं । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग टुमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको छ । जारी सिरिजमा रोहित पौडेलको टिमको यो लगातार दोस्रो जित हो । नेपालका लागि अरिफ शेखले उत्कृष्ट इनिङस खेले ।
स्कटल्यान्डको डन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर एक बलमा सबै विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । दोस्रो ओभरमा नै सोमपाल कामीले ओपनर माइकल लेभिटलाई एक रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। अर्का ओपनर म्याक्स ओ डडलाई करण केसीले ४ रनमा क्लिन बोल्ड गरेका थिए ।
विक्रमजित सिंह र कप्तान स्कट इडवर्डसले इनिङस सम्हाल्ने प्रयास गरेका थिए । ३८ रन बनाएका विक्रमजितको विकेट लिदै संदीप लामाछानेले साझेदारी तोडे । ४६ रन बनाएका इडवर्डसले ललित राजबंशीलाई विकेट दिए । ललितको स्कटल्यान्ड भ्रमणमा यो पहिलो खेल हो । नोहा क्रोएसले ४८ रन जोडे । सोमपालले तीन, करण, संदीप र ललितले दुई दुई विकेट लिए ।
जवाफमा नेपालले १७ बल अघिनै पाँच विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । नेपालले ६८ रनमा तीन विकेट गुमाएको थियो । आशिफ शेख १९, कुशल भुर्तेल २५ र भीम सार्की ११ रनमा पभेलियन फर्किए । कप्तान रोहित २३ रनमा रन आउट भएका थिए । तर आरिफ र दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि उनाननब्बे रनको साझेदारी गर्दै जित दिलाए । ९९ बल खेलेका आरिफले ७८ रनको योगदान गरे ओडिइमा उनको यो अहिलेसम्मको उच्च स्कोर हो ।
यस्तै ओडिआइमा आफ्नो आठौं अर्धशतक प्रहार गर्ने क्रममा उनले सात चौका र दुई छक्का प्रहार गरेका थिए । दीपेन्द्र ३८ रनमा अविजीत रहे । गुल्सन झाले पनि ११ रन बनाए । लेभिटले दुई विकेट लिएका थिए । योसंगै नेपालले गत वर्ष अमेरिकामा भएको टी-ट्वान्टी विश्वकपमा नेदरल्यान्डससँग बेहोरेको हारको बदला पनि लियो ।
तालिकाको सातौं स्थानमा रहेको नेपालको १४ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानको नेदरल्यान्ड्सको २१ खेलबाट २६ अंक छ । नेपालले अब आइतबार घरेलु टिम स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । करणले अविश्वसनिय इनिङस खेलेपछि नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्ड माथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो ।