काठमाडौं । सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सचेतहरुसँग छलफल गर्दै हुनुहुन्छ । संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न उहाँले मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई ११ बजे बोलाउनुभएको हो ।
संसद्को अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले सचेतकहरूलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । त्यस लगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्नेछ । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन । जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन ।