धुलिखेलको पात्लेखेतमा ट्रक र बोलेरो ठोक्किँदा तीनजना घाइते, दुई चालक पक्राउ

जेष्ठ १७, २०८२ |पुजन धिताल
धुलिखेलको पात्लेखेतमा ट्रक र बोलेरो ठोक्किँदा तीनजना घाइते, दुई चालक पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा शनिबार बिहान ट्रक र बोलेरो एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन। दुर्घटना जेठ १७ गते बिहान ६ बजेर ५० मिने६ जाँदा भएको हो।

झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंबाट सप्तरीतर्फ जाँदै गरेको बा १९ च २८८८ नम्बरको बोलेरो जिप विपरीत दिशाबाट आई ठोक्किँदा दुर्घटना भएको काभ्रे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बोलेरोमा सवार सप्तरी शम्भुनाथ नगरपालिका-१ की वर्ष ४० की ललिता चौधरी, वर्ष ३५ की बबिता चौधरी र बबिताकै ७ वर्षीय छोरा प्रभास चौधरी घाइते भएका हुन्।

घाइते ललिता चौधरीको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। बबिता चौधरीको देब्रे खुट्टामा सामान्य चोट लागेको छ भने उनका छोरा प्रभास सामान्य घाइते भएका छन ।

दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको हो। हाल उनीहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

घटनाको जानकारी पाएपछि अस्थायी ट्राफिक प्रहरी पोस्ट, काभ्रेभन्ज्याङ प्रहरी टोली तुरून्तै घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार बोलेरो गाडीले आफ्नो लेन छोडेर ट्रकतर्फ मोड लिएको हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ। यद्यपि, विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ।

हाल दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन भने घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको काभ्रे प्रहरीका प्रवक्ता मीनब घलेले जानकारी दिनु भयो ।

पूर्वी तराईलाई राजधानीसँग जोड्ने मुख्य लाइफलाइन मानिने बिपी राजमार्गमा दैनिकजसो हुने जस्तै यो दुर्घटनाले पुनः सुरक्षित सवारी तथा लेन अनुशासनको आवश्यकता औंल्याएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।