काठमाडौं । १३औं संस्करणकाे कान्तिपुर हाफ म्याराथनको उपाधि पुरूषतर्फ आर्मीका धावक खडकबहादुर खड्का र महिलातर्फ ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन । दुवै पहिलो पटक च्याम्पियन भएका हुन् ।
पुरूषतर्फ पहिलो भएका खड्काले निर्धारित दूरी एक घण्टा ६ मिनेट ४७ सकेन्डमा पूरा गरे। केन्याका जुलियस मुरूकी नौ सेकेन्डले पछि परेर दोस्रो भए। गपीचन्द्र पार्की एक घण्टा ८ मिनेट ४८ सकेन्ड समय सहित तेस्रो भए।
महिलातर्फ सन्तोषीले पहिलो पटक कान्तिपुर हाफ म्याराथन जित्ने क्रममा एक घण्टा २३ मिनेटको समय निकालिन्। उनले दोस्रो भएको पूर्णलक्ष्मी न्यौपानेलाई २ मिनेट २९ सकेन्डले पछि पारिन्। एक घण्टा २६ मिनेट ४३ सकेन्डमा हाफ म्याराथन पूरा गरेकी पुष्पा भण्डारी तेस्रो भइन्।
त्यसैगरी, ५ किमीको कर्पोरेट एन्ड सेलेब रनको पुरुषतर्फ निर्धारित दूरी १८ मिनेट ३८ सकेन्डमा पूरा गरेर विकेश घिमिरे पहिलो भए। यो विधाको महिलातर्फ रजिना दुलाल निर्धारित दूरी २४ मिनेट १० सकेन्डमा पूरा गरेर पहिलो भइन्।
सात किलोमिटरको कलेज रनमा छात्रतर्फ अजय पाण्डे र छात्रातर्फ सुसन कार्की पहिलो भए । यसैगरी ह्विलचेयर रनमा पुरूषतर्फ प्रेम विक र महिलातर्फ ऐश्वर्यकुमारी कुमाल पहिलो भए ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा 'लेट्स रन फर ग्रिनर टुमरो' थियो। आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट प्रतियोगिता सुरू भएको थियो ।
प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो। यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा भयो । दुवैतर्फ महिला र पुरुषको फरक इभेन्ट थिए। हाफ म्याराथन, कलेज रन ७ किलोमिटर, कर्पोरेट एन्ड सेलेब रन ५ किलोमिटर र ह्विलचेयर रेस ३ किमि दूरीमा भएका थिए। सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढी धावक सहभागी भए ।