आलमलाई सफाइ, पीडित परिवार भन्छन्- अन्याय भयो, त्रासमा छौं

जेष्ठ १४, २०८२ |किरण पौडेल
आलमलाई सफाइ, पीडित परिवार भन्छन्- अन्याय भयो, त्रासमा छौं

काठमाडौं । रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ । रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले आलमलाई सफाइ दिएको हो ।

अदालतको फैसलापछि पीडित परिवारले भने आफूमाथि अन्याय भएको बताएका छन् । उच्चको फैसलापछि मृतक त्रिलोक प्रतापका बुवा श्रीनारायण सिंहले कान्तिपुर समाचारसँग कुरा गर्दै अन्याय भएको र आफूहरू त्रासमा रहेको बताउनुभयो । जिल्ला अदालतले दिएको न्याय उच्चले उल्ट्याएपछि अब आफूलाई न्याय दिने काम सरकारको भएको उहाँको भनाइ छ ।

न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आज जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । रौतहटको राजपुरमा २०६४ साल चैत २७ गते भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै लगाएर मारेको अभियोग लागेका आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैद गर्ने फैसला गरेको थियो । आलमसँगै उनका भाइ मोहम्मद महताव आलम र शेख सराजसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दर्ता भएको मुद्दामा जिल्ला अदालत रौतहटले चार जनालाई ०८१ वैशाखमा जन्मकैद हुने निर्णय सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी थिए ।

जिल्ला अदालत रौतहटको फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुनरावेदन गरेका थिए । वीरगन्ज इजलासले आज जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिने निर्णय गरेको हो ।

अदालतको आदेशसँगै आलम आजै रिहा हुने उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।

- सहकर्मी पंकज श्रेष्ठको साथमा


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।