काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करको नीति र दरहरुमा स्थिरता कायम गर्नेगरी आगामी आर्थिक वर्षका लागि आर्थिक विधेयक ल्याइएको प्रष्टीकरण दिनुभएको छ ।
आर्थिक विधेयकमाथि शनिवार संसद्को प्रतिनिधि सभामा भएको छलफलमा उहाँले जहिल्यै उद्योगी व्यवसायी, करदाताका बीचमा करका नीति र दरमा अस्थीरता, अनिर्णयता भयो भन्ने गुनासाहरु आएको बताउँदै त्यसलाई सम्बोधन गर्ने प्रयास यसपटक गरिएको बताउनु भयो ।
मन्त्री पौडेलले यसपटक आर्थिक विधेयकमा करको नीति र दरहरुमा स्थिरताको सन्देश जान सकोस् भनेर आवश्यक र अत्यावश्यक ठाउँमा मात्र संशोधनको प्रस्ताव गरिएको बताउनुभयो । उहाँले मदिरा र सुर्तीजन्य वस्तुले जनस्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्ने हिसावले नै त्यस्ता वस्तुहरुमा अन्तःशुल्कमा उच्च दर प्रस्ताव गरिएको बताउनु भयो ।
प्रदुषण नियन्त्रणका लागि पनि प्रदुषण कर प्रस्ताव गरिएको उल्लेख गर्दै उहाँले पेट्रोल र डिजेलका सन्दर्भमा लगाइएको कर प्रस्ताव व्यावहारिक रहेको पनि बताउनु भयो । उहाँले १० लाखभन्दा माथिको सुन कारोबारमा २ प्रतिशत विलासिता शुल्क लाग्ने र त्योभन्दा कमको करोबारमा विलासिता शुल्क नलाग्ने व्यवस्थालाई यसपटक १० लाखको थ्रेसहोल्ड हटाइएको बताउनु भयो ।