सिरहाका मेयरद्वारा मध्यरातमा पत्रकारलाई अर्को धम्की : ‘अब थाहा हुन्छ, कोसँग पाला पर्‍यो भन्ने कुरा’

जेष्ठ १४, २०८२ |विनय आजाद
सिरहाका मेयरद्वारा मध्यरातमा पत्रकारलाई अर्को धम्की : ‘अब थाहा हुन्छ, कोसँग पाला पर्‍यो भन्ने कुरा’

सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले फेरि अर्को धम्की दिनुभएकाे छ । नगर प्रमुख यादवले मंगलबार मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै सञ्चारकर्मीहरूलाई अर्को धम्की दिनुभएकाे हाे।

'मेरो बारेमा लेख्ने पत्रकारहरूले प्रमाण दिनुस्, नभए ठीक हुन्न, पत्रकारहरूलाई अब थाहा हुन्छ कोसँग पाला पर्‍यो भन्ने कुरा अब थाहा हुन्छ,' उहाँले लेख्नुभएकाे छ, 'म तयार छु, सबै स्क्रिनसट राखेको छु ।' धम्कीपूर्ण शैलीमा उहाँले अन्य पोष्टहरू पनि गरेका छन ।

यसअघि मंगलबार बिहान उहाँले आफूविरूद्ध लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने र भारी दण्ड जरिवाना गराउने धम्की दिनुभएकाे थियाे । उहाँले भन्नुभएकाे थियाे, 'मेरो कार्यकालमा मेरो पालिकाविरुद्ध कसैले लेख्छ भने मलाई यसबाट डर छैन, पत्रकारहरू डराउनुपर्छ, पत्रकारहरूलाई भारी पर्छ, यसको परिणाम भयानक हुन्छ ।'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोली सोमबार नगरपालिकामा आएको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।

अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेललेनै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचार प्रकाशित गरेको थियो । तर, यो कुरा अनर्गल प्रचारबाजी भएको भन्दै मेयर यादवले मंगलबार बिहान पत्रकारलाई भारी पर्ने चेतावनी दिनुभएकाे थियाे ।

यसपछि सञ्चारमाध्यमले यसबारे समाचार र नेपाल पत्रकार महासंघ सिरहाले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेपछि उहाँले फेरि यस्तो धम्की दिनुभएकाे हाे। अख्तियारको टोली मंगलबार पनि नगरपालिका आएको थियो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।