कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

स्थानीयको अवरोधले असारसम्म आयोजना सक्न चुनौती
जेष्ठ १३, २०८२ |कमल पन्त
कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

सुर्खेत । पछिल्लो ५ वर्षदेखि कर्णालीमा १३२ केभिए विद्युत प्रसारणलाई लाइन पुर्‍याउने अभियान जारी छ । सामान्य हावाहुरीमै झ्याप्पझ्याप्प बिजुली गइरहरने समस्याबाट कर्णालीवासीलाई मुक्त पार्न र गाउँ-गाउँमा विद्युत सेवा विस्तार गर्न कोहलपुर-सुर्खेत १३२ केभीए विद्युतलाइन तान्ने काम चलिरहको छ । 

९० प्रतिशत काम सकिइसकेको आयोजना बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा भइरहेको स्थानीयको अवरोधका कारण निर्धारित मितिमा पूर्ण हुन नसक्ने देखिएको छ ।

बहुप्रतिक्षित कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम ९० प्रतिशत सकिएको छ । १ सय ६५ मध्ये १ सय ५५ वटा टावरको निर्माण सकिएको छ भने कुल ५२ किलोमिटरमध्ये ३५ किलोमिटरमा प्रसारणलाइन पनि तानिसकिएको छ । 

बाँके र बर्दिया निकुञ्जमा काट्नुपर्ने १३ हजार ५६ वटा रूखमध्ये १२ हजार रुख काटिसकिएका छन । तर आयोजनाको काम अन्तिम चरणमा पुग्नैलाग्दा पनि बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा स्थानीयको अवरोध हट्न सकेको छैन । यी अवरोध हटेकोमा ६ महिनाभित्रै कर्णालीमा १३२ केभीए विद्युत पुग्ने आयोजनाले जनाएको छ ।

अवरोधका कारण बाँकेमा ३ र सुर्खेतमा एउटा टावर राख्न सकिएको छैन । अवरोध जारी राखेका बानियाभारका स्थानीय चलनचल्तीको दरअनुसार क्षतिपूर्ति मागगर्दै अदालत पुगेकोमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले रिट खारेज गरिसकेको छ । तर पनि बानियाभारको अवरोध हटेको छैन । 

सुर्खेतको सुब्बाकुनाका स्थानीयले पनि चलनचल्तीकै दरअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्दै अवरोध गरिहेका छन । आफूहरू विकास विरोधी नभएको दाबी गर्ने स्थानीयले आयोजनाले निर्धारण गरेको क्षतिपूर्तिमा चित्त नबुझाएर गृह मन्त्रालयमा निवेदन दिएका छन ।

२०८२ असारभित्र कर्णालीमा १३२ केभीए विद्युत पुर्‍याउने लक्ष्य राखिएको आयोजना यिनै अवरोधका कारण पछाडि धकेलिने सम्भावना छ । पहिलो चरणमा कोहलपुरदेखि सुर्खेत, दोस्रो चरणमा सुर्खेतदेखि दैलेख र तेस्रो चरणमा दैलेखदेखि जुम्लासम्म १३२ केभीए विद्यतु पुर्‍याउने लक्ष्य छ । आयोजना सम्पन्न भएमा कर्णालीवासीले झ्याप्पझ्याप्प बत्ती जाने र कम भोल्टेज आउने समस्याबाट मुक्ति पाउने अपेक्षा छ ।

२०७७ असारमा ७० करोडमा भारतीय आरएस इन्फाप्रोजेक्ट प्रालिले आयोजना निर्माणको ठेक्का लिई काम गरिहेको छ । बानियाभार र सुब्बाकुनाको अवरोध हटाउन सरोकारवालाबीच समन्वय आवश्यक देखिएको छ । 


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।