तिलगाउँका बाढीपिडितका लागि कर्णाली प्रदेश सरकारले पठायो राहत

जेष्ठ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिलगाउँका बाढीपिडितका लागि कर्णाली प्रदेश सरकारले पठायो राहत

काठमाडौं । गएको जेठ १ गते राति साढे १० बजेतिर दुई वटा ताल फुटेर पहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन । तिलगाउँमा आएको बाढीपहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ । 

हिमपहिरो गएको ८ दिनपछि बिहीबार प्रदेश सरकारले बिहिबार सुर्खेतबाट तिल गाउँका लागि राहत सामग्री पठाएको हो । प्रदेश सरकारले पठाएको राहत सामग्री आइतबारसम्म तिल गाउँ पुग्ने नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयाे ।

पहिरोका कारण मानवीय क्षति नभएपनि भौतिक क्षति भने ठूलो भएको छ । उपाध्यक्ष लामाकाअनुसार बाढीपहिरोले तिलखोला लघु-जलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।

दुई वटा ताल फुटेर बाढीपहिरो जाँदा तिलगाउँका १८ परिवारका ३२ जना त्रिपालमा बसिरहेका पहिरो पिडितका लागि प्रदेश सरकारले ५ सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न , १८ सेट सोलार र १८ सेट म्याट्रेस सेटलगायतका राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय हुम्लाको माग बमोजिम राहत पठाइएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयाे । यस्तै तिलगाउँको बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली लिमि पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली पहिरो आएको स्थान तिल गाउँ पुगि सकेको छ । 

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.