सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गएराति भूकम्पको धक्का महसुस

भूकम्पले मानवीय वा भौतिक क्षति पुर्‍याएको सम्बन्धमा कुनै ठोस विवरण प्राप्त नभएको जिकिर
जेष्ठ ९, २०८२ |हरिश्चन्द्र बाग
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गएराति भूकम्पको धक्का महसुस

कञ्चनपुर । गएराति बैतडी जिल्लाको सदरमुकाम खलङ्गा गढीलाई केन्द्रबिन्दु बनाएर सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पका धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाकाअनुसार राति १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही समयपछि राति २ बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प पनि गएको पुष्टि गरिएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सदरमुकाम खलङ्गा गढी क्षेत्र नै रहेको जनाइएको छ । उक्त भूकम्पको कम्पन बैतडीसहित दार्चुला, बझाङ, डडेलधुरालगायतका सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत व्यापक रूपमा महसुस गरिएको थियो ।

हालसम्म भूकम्पले मानवीय वा भौतिक क्षति पुर्‍याएको सम्बन्धमा कुनै ठोस विवरण प्राप्त नभएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सम्भावित क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय डडेलधुराका सूचना अधिकारी द्वारिका ओझाकाअनुसार डडेलधुरामा पनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।