काठमाडौं । राजावादी आन्दोलनका नाममा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा एक पत्रकारसहित दुई जनाको ज्यानै जाने गरी भएको हिंसात्मक प्रदर्शनमा संलग्नमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । प्रहरीले अनुसन्धान सकेर भोलिसम्म रायसहित प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
गत चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । राजावादी समूहले कान्तिपुर टेलिभिजनसहित विभिन्न सञ्चार गृहका कार्यालयमा तोडफोड र निजी घरमा आगजनी गरेको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा ९० जना पक्राउ परेका थिए । तीमध्ये केहीलाई हाजिर जमानीमा छोडिए पनि प्रहरी हिरासतमा ५३ जना छन् ।
उनीहरू सबैको बयान लिनेदेखि प्रमाण संकलनसम्मको काम सकिएकाले भोलिसम्म जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो । जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ परेका र फरार समेत गरेर करिब १ सय जनालाई प्रतिवादी बनाउने तयारी छ । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेरसहित केहीलाई हाजिर जमानीमा छाडिएको थियो । राप्रपाका दुई नेतालाई राज्यविरुद्ध, संगठित र आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी प्रहरीको छ ।
त्यस्तै आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंसहितका आरोपीविरुद्ध भने व्यक्ति हत्या कसुरमा कर्तव्यज्यान, प्रहरीमाथि गाडी चढाएकोमा ज्यान मार्ने उद्योगसहित संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्ने जिल्ला प्रहरी परिसरले जनाएको छ ।
भाटभटेनीको सामान लुटपाट गर्नेहरू पनि हिरासतमै छन् । जसमा योजनाबद्ध लुटपाटमा नभई भेटेको सामान लिएर जानेहरूका विरुद्ध के गर्ने भन्ने जिल्ला सरकारी वकिलसँग समन्वय गरेर निर्णय लिइने भएको छ । आजै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भए पनि प्रतिवादी धेरै भएको र मिसिल समेत बनाउन समय लागेकाले पक्राउ परेकाहरूलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ ।