काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । यो सिजनमा गत वर्ष ९९१ जनाले अनुमति लिएकोमा यस वर्ष ११ सय ४० जनाले अनुमति लिएका छन् । वसन्त ऋतुमा हिमाल आरोहणबाट ७९ करोड ४७ लाख राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा २० करोडले बढी हो ।
सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१९ जनाले अनुमति लिनेका थिए । यस वर्ष यो संख्या बढेर ४६८ पुगेको छ । सगरमाथा मात्रै होइन अन्य हिमाल आरोहणको अनुमति लिनेको संख्या पनि बढेको छ । सन् २०२४ को वसन्त ऋतुमा ३० वटा हिमाल आरोहणका लागि ६२ देशका ९९१ जनाले अनुमति लिँदा ५९ करोड ९६ लाख राजस्व संकलन भएकोमा यस वर्ष २७ हिमाल आरोहणका लागि ७३ देशका ११ सय ४० जनाले अनुमति लिए, जसबाट ७९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अनुमति लिएकामध्ये अहिलेसम्म ५०५ जनाले सफल आरोहण गरिसकेका छन् ।
यो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी भारतमा ८७ जना रहेका छन् भने अमेरिकी ८३, चिनियाँ ६८ र बेलायती २९ जना छन् । यस्तै यस सिजनको सुरुमै अन्नपूर्ण प्रथम हिमपहिरोमा परी २ जना शेर्पा गाइड हराए पनि अन्य हिमालमा यस्ता कुनै दुर्घटना नभएको र आगामी वर्ष आरोहीको संख्या अझै बढ्ने व्यवसायीको भनाइ छ ।
सगरमाथापछि १११ जनाले ल्होत्से हिमाल आरोहणको अनुमति लिएका छन् । त्यस्तै १०२ जनाले आमादब्लम, ७८ जनाले कन्चनजंघा, ६६ जनाले अन्नपूर्ण प्रथम, ६९ जनाले मकालु र ७६ जनाले नुप्त्से हिमाल आरोहणको अनुमति लिएका छन् ।