रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा

जेष्ठ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि मंगलबारदेखि सुनुवाइ चलिरहेको छ ।

बुधबार न्यायाधीश सुवेदीको संवैधानिक इजलास परेकाले सुनुवाइ हुन सकेको थिएन । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्नुभएको थियो । त्यस्तै पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दी तथा अधिवक्ता अपूर्व खतिवडाले बहस गर्नुभएको थियो ।

सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता लोकराज पराजुली, सहन्यायधीवक्ताद्वय गोविन्द खनाल र दिनेश घिमिरेले बहस गर्नुभएको थियो । त्यस्तै उपन्यायाधिवक्ताहरू रामप्रसाद पन्थी र रक्षा ज्ञवालीले पनि बहस गर्नुभएको थियो ।

आज सरकारी वकिलको बहस सकिएको छ । भोलि सहकारीपीडितका तर्फबाट ३ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने त्यसपछि जवाफी बहस सुरु हुनेछ । लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रूपन्देहीमा पुर्पक्षका लागि थुनामा छन् । 

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले धरौटीमा छोड्ने आदेश उल्टाउँदै पुर्पक्षमा पठाएपछि लामिछानेले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिनुभएको थियो । यी दुवै रिटलाई सँगै राखेर सुनुवाइ गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.