काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुई अधिकृत सगरमाथाको सफल आरोहरण गरेर फर्किएका छन् । नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पा र सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सफलतापूर्वक सगरमाथाको आरोहण गरेर फर्किनुभएको हो ।
शेर्पा सगरमाथा चढ्ने पहिलो नेपाली महिला प्रहरी समेत हुनुभएको छ । चैत २६ गते प्रहरी प्रधान कार्यालयबाट सगरमाथा आरोणका लागि प्रस्थान गर्नुभएकी शेर्पा जेठ ५ गते बिहान ८:५६ मा चुचुरोमा पुग्नुभएको थियो । ‘महिला र बालिकाहरूविरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट होऔं’ भन्ने नारा लिएर उहाँ सगरमाथा आरोहणका लागि जानुभएको थियो ।
शेर्पालाई नेपाल प्रहरीले सम्मान गर्दै एक तह बढुवा समेत दिएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले विशेष बढुवामार्फत शेर्पालाई सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गर्नुभएको हो ।
शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी रमेश थापासहितको टोलीले ब्यान्ड बाजासहित स्वागत गर्नुभएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बलका सहायक निरीक्षक छत्याल पनि जेठ ४ गते सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको थियो । वैशाख १५ गते आरोहणका लागि प्रस्थान गर्नुभएका छत्याल जेठ ४ गते बिहान ९:२० मा चुचुरोमा पुग्न सफल हुनुभएको थियो ।
उहाँले सगरमाथा संवाद र सशस्त्र प्रहरी बलको झण्डा सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो । छत्याललाई पनि साहसिक काम गरेर अरूलाई पनि हौसला दिएको भन्दै एक तह बढुवा दिइएको छ ।
सशस्त्र प्रहरी महनिरीक्षक राजु अर्यालले बिहीबार सशस्त्र प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।