हुम्ला । हिमताल भासिएर आएको पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोडभन्दा बढीको क्षति भएको छ । गाउँमाथि ५ हजार ३५० मिटरको उचाइमा रहेका २ वटा हिमताल भासिदा ५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाइ कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत्मा गरी ५ करोडभन्दा बढीको क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायले बताउनुभयो ।
उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गाउँपालिका कर्मचारीको टोलीले क्षतिको यकिन विवरण संकलन गरेर प्रतिवेदन तयार पारी सरोकारवाला सम्बन्धित सबै निकायमा पठाइसकेको अधिकृत पाध्यायले बताउनुभयो ।
काठमाडौंमा जलवायु परिवर्तन तथा हिमालको विषयमा सगरमाथा संवाद सुरु हुँदाकै अघिल्लो राति अर्थात् जेठ १ गते हुम्लाको विकट हिमालपारिको गाउँ नाम्खा गाउँपालिका-६ को तिलगाउँमा पहिरो जाँदा सिंगो बस्ती नै यति बेला विस्थापित छ । राति सुतिसकेका बेला खहरे गडगडाए झैं ठूलो आवाजले १८ घरका ३२ जनाको भागाभाग भएको थियो ।