यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

जेष्ठ ८, २०८२ |डीबी बुढा
यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

जुम्ला । तातोपानी गाउँपालिका-८ स्थित सुब्बाकुना पाटनमा यार्सा टिप्न गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । तातोपानी-८ टोप्लागाउँकी २७ वर्षीय कल्पना शाहीको चट्याङ लागेर मृत्यु भएको हो । 

पाटनमा यार्सा खोजिरहेकै अवस्थामा शाहीलाई चट्याङ लागेको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले घटनास्थलमा प्रहरी नायब निरीक्षक राज रोकायाको नेतृत्वमा ६ जनाको प्रहरी टोली खटाइएको बताउनुभएको छ ।

सुब्बाकुना पाटन जुम्ला र जाजरकोटको सीमा नजिकै पर्छ । चट्याङ परेको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । पाटन पुग्न झन्डै ६ घण्टाको समय लाग्ने स्थानीयले बताएका छन् । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।